परिच्छेद – ६: पूँजी, पूँजीकोष र तरल सम्पत्ति सम्बन्धी व्यवस्था


परिच्छेद–६ पूँजी, पूँजीकोष र तरल सम्पत्ति सम्बन्धी व्यवस्था


४१. पूँजी कायम राख्नु पर्नेः (१) बैंक वा वित्तीय संस्थाको न्यूनतम चुक्ता पूँजी राष्ट्र बैंकले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिमको न्यूनतम चुक्ता पूँजी बैंक वा वित्तीय संस्थाले राष्ट्र बैंकले निर्धारण गरेको समयभित्र पुरा गरी सक्नु पर्नेछ ।
(३) राष्ट्र बैंकले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै एक बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजीको बढीमा पन्ध्र प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने व्यवस्था गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम कुनै एक बैंक वा वित्तीय संस्थामा लगानी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले अर्काे बैंक वा वित्तीय संस्थामा लगानी गर्दा उक्त बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजीको एक प्रतिशतभन्दा कम हुने गरी मात्र लगानी गर्नु पर्नेछ ।
(५) विदेशी संयुक्त लगानीमा खुल्ने बैंक वा वित्तीय संस्था, “घ” वर्गका वित्तीय संस्था र पूर्वाधार विकास बैंकमा कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले चुक्ता पूँजीमा लगानी गर्न सक्ने हद सम्बन्धी व्यवस्था राष्ट्र बैंकले तोके बमोजिम हुनेछ ।
(६) बैंक वा वित्तीय संस्था संस्थापना गर्न वा सो बैंक वा वित्तीय संस्थामा कुनै व्यक्ति वा संस्थाले लगानी गर्न सक्ने शेयर पूँजीको प्रतिशत राष्ट्र बैंकले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ ।

४२. पूँजीकोषः (१) बैंक वा वित्तीय संस्थाले आफ्नो कुल सम्पत्ति वा कुल जोखिमभारित सम्पत्तिको आधारमा राष्ट्र बैंकले तोकिदिएको अनुपातमा पूँजीकोष कायम गर्नु पर्नेछ । राष्ट्र बैंकले त्यस्तो अनुपात तोक्दा अतिरिक्त पूँजीकोष अनुपात समेत तोक्न सक्नेछ ।
(२) कुनै बैंक वा वित्तीय संस्थाले उपदफा (१) बमोजिमको पूँजीकोष कायम गर्न नसकेमा त्यस्तो बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिले एक महिनाभित्र सोको जानकारी राष्ट्र बैंकलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको जानकारीमा अन्य कुराका अतिरिक्त पूँजीकोष कायम रहन नसकेको कारण तथा पूँजीकोषलाई वृद्धि गरी राष्ट्र बैंकले दिएको निर्देशन बमोजिमको अवस्थामा ल्याउन सञ्चालक समितिले तयार गरेको योजना वा कार्यक्रम समेत संलग्न गरेको हुनु पर्नेछ ।
(४) उपदफा (२) र (३) बमोजिम सञ्चालक समितिले पेश गरेको जानकारी तथा योजना वा कार्यक्रम मनासिब देखेमा सोही बमोजिम र त्यसमा कुनै संशोधन वा हेरफेर गर्नु परेमा सोको कारण खुलाई प्रस्तावित योजना वा कार्यक्रम संशोधन वा हेरफेर गरी कार्यान्वयन गर्न सम्बन्धित बैंक वा वित्तीय संस्थालाई राष्ट्र बैंकले आवश्यक निर्देशन दिन सक्नेछ ।

४३. सम्भावित नोक्सानी सम्बन्धी व्यवस्थाः बैंक वा वित्तीय संस्थाले आफ्नो कर्जा लगायतका सम्पत्ति र वासलात बाहिरको कारोबारको दायित्व सम्बन्धी सम्भावित जोखिमलाई खाम्न सक्ने गरी राष्ट्र बैंकले तोके बमोजिम नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

४४. साधारण जगेडा कोषः (१) बैंक वा वित्तीय संस्थाले एक साधारण जगेडा कोष कायम राख्नु पर्नेछ । त्यस्तो जगेडा कोषमा चुक्ता पूँजीको दोब्बर नभएसम्म प्रत्येक आर्थिक वर्षको खुद नाफाबाट कम्तीमा बीस प्रतिशत र त्यस पछिका आर्थिक वर्षमा कम्तीमा दश प्रतिशत रकम थप्दै जानु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बैंक वा वित्तीय संस्थाको साधारण जगेडा कोषमा जम्मा भएको रकम राष्ट्र बैंकको पूर्व स्वीकृति नलिई अन्य शीर्षकमा रकमान्तर गर्न वा खर्च गर्न पाइने छैन ।

४५. सटही समीकरण कोषः (१) विदेशी विनिमय कारोबार गर्ने बैंक वा वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्षमा भारतीय रुपैयाँ बाहेक अन्य विदेशी मुद्राको विनिमय दरमा परिवर्तन भएको कारणबाट आर्जन गरेको पुनर्मूल्याङ्कन मुनाफालाई सोही आर्थिक वर्षको अन्त्यमा नाफा–नोक्सान हिसाबमा आवश्यक हिसाब मिलान गर्नु पर्नेछ । त्यसरी नाफा–नोक्सान हिसाबमा हिसाब मिलान गर्दा कुनै आर्थिक वर्षमा पुनर्मूल्याङ्कन आम्दानी भएमा त्यस्तो मुनाफाको कम्तीमा पच्चीस प्रतिशत रकम सटही समीकरण कोषमा जम्मा गर्नु पर्नेछ ।
तर भारतीय रुपैयाँको विनिमय दरमा परिवर्तन भएको कारणबाट हुने पुनर्मूल्याङ्कन नाफा–नोक्सानीको हकमा राष्ट्र बैंकले तोके बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम सटही समीकरण कोषमा जम्मा भएको रकम विदेशी मुद्राको विनिमय दरमा घटबढ भएको कारणबाट हुने नोक्सानी समायोजन गर्न बाहेक राष्ट्र बैंकको स्वीकृति नलिई अन्य काममा खर्च गर्न वा रकमान्तर गर्न पाइने छैन ।

४६. तरल सम्पत्ति कायम गर्नु पर्नेः बैंक वा वित्तीय संस्थाले राष्ट्र बैंकले समय समयमा तोके बमोजिमको तरल सम्पत्ति कायम राख्नु पर्नेछ ।

४७. लाभांश घोषणा र वितरणः (१) बैंक वा वित्तीय संस्थाले लाभांश घोषणा तथा वितरण गर्नु अघि राष्ट्र बैंकको स्वीकृति लिनु पर्नेछ ।
(२) बैंक वा वित्तीय संस्थाले आफ्नो सम्पूर्ण प्रारम्भिक खर्च, अघिल्लो वर्षसम्म हुन गएको नोक्सानी, राष्ट्र बैंकले तोकिदिएको पूँजी, पूँजीकोष, सम्भावित नोक्सानी व्यवस्था र दफा ४४ बमोजिम साधारण जगेडा कोषमा छुट्याउनु पर्ने रकम पूरा नगरेसम्म तथा सर्वसाधारणलाई छुट्याइएको शेयर पूर्ण रुपमा बिक्री वितरण नगरेसम्म शेयरधनीहरुलाई लाभांश घोषणा गर्न वा वितरण गर्न पाउने छैन ।

४८. पूँजी घटाउन आदेश दिन सक्नेः प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्र बैंकले बैंक वा वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी घटाउन आदेश दिन सक्नेछ ।